बुधबार, ३ भदौ २०८३ || Aug 19, 2026
फिचर / विचार

सुदूरपश्चिमको मौलिक चिनारी: ओल्के सङ्क्रान्तिको ऐतिहासिक पृष्ठभूमि र बहुआयामिक महत्व

विशन देव जोशी
208Shares

सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरताले मात्र होइन, आफ्नै विशिष्ट र रैथाने कला-संस्कृतिका कारण पनि उत्तिकै समृद्ध छ। यहाँ मनाइने अनेकौँ मौलिक चाडपर्वहरूमध्ये प्रत्येक भदौ १ गते (भाद्र सङ्क्रान्ति) का दिन मनाइने ओल्के पर्व एक अनुपम सांस्कृतिक धरोहर हो। साउन महिनाको निरन्तर वर्षा र हिलोमैलोबाट मुक्ति पाइने र प्राकृतिक रूपमा नयाँ उमङ्ग छाउने समयमा मनाइने यो पर्व सुदूरपश्चिमवासीको पहिचान र सामाजिक सद्भावको बलियो खम्बा हो।

स्थानीय डोटेली भाषामा 'ओल्को' भन्नाले आफ्ना घरपरिवारका मान्यजन, ज्येष्ठ नागरिक वा आफन्तलाई सम्मानपूर्वक दिइने उपहार, सत्कार वा कोसेली भन्ने बुझिन्छ। पौराणिक कालमा जब साउन महिनामा लगातार झरी पर्थ्यो, तब गाउँघरमा सञ्चार र यातायातका साधन हुँदैनथे। बाढी, पहिरो र हिलोका कारण दादुरा, झाडापखला, हैजा र लुतो जस्ता अनेकौँ सङ्क्रामक महामारीको रुपमा फैलिने डर हुन्थ्यो।यस्तो कठिन र कष्टकर वर्षायाम पार गरेर सुरक्षित रूपमा भदौ महिनामा प्रवेश गरेको खुसीयालीमा ओल्के पर्व मनाउने परम्परा सुरु भएको हो भन्ने मान्यता रहेको छ। वैशाखमा मनाइने बिसु सङ्क्रान्तिमा महामारीबाट मरिन्छ कि भन्ने डर हुन्थ्यो भने भदौको ओल्के सङ्क्रान्ति सम्म बाँच्न सफल भइयो भनेर खुसी मनाउने गरिएको किंबदन्तिहरु रहेका छन्।

ओल्के पर्वको धार्मिक र प्राकृतिक पाटो निकै सुन्दर र सन्देशमूलक छ। वर्षायाम सकिएसँगै प्रकृतिले नयाँ काँचुली फेर्छ। डाँडाकाँडाहरू हरियालीले सजिन्छन् र खेतबारीमा नयाँ बालीहरू फस्टाउँछन्।

  • न्वागी र पहिलो बाली अर्पण: यस दिन प्रकृतिले दिएका नयाँ उत्पादनहरू जस्तै— कर्कलाको भित्री कलिलो पात (गाभा), फलफूल, दूध, दही र अन्नको पहिलो अंश (न्वागी) कुलदेवता र मन्दिरहरूमा चढाउने प्रचलन छ। आफूले उपभोग गर्नुभन्दा पहिले भगवानलाई चढाउने यो परम्पराले प्रकृतिको सृजनशीलताप्रति कृतज्ञता प्रकट गर्दछ।
  • स्वास्थ्य र जडीबुटीको प्रयोग: साउनको अन्तिम राति हात र खुट्टामा तिउरी फूलको रस वा भङ्गेरीका पातको लेदो लगाउने चलन छ। यसले वर्षाको हिलो र फोहोर पानीका कारण छालामा लाग्ने रोग, सङ्क्रमण र चोटपटक निको पार्ने जनविश्वास छ, जसले हाम्रो परम्परागत जडीबुटी तथा आयुर्वेद विज्ञानलाई पनि उजागर गर्छ।

ओल्के पर्वले समाजमा रहेका साना-ठूला, धनी-गरीब र विभिन्न पेसाकर्मीहरूबीचको दूरीलाई मेटाएर सामाजिक सद्भाव कायम गर्न मद्दत गर्दछ।यस पर्वको अर्को विशेषता भनेको यस दिन गाउँका सबै मानिसहरू मिलेर गाउँ नजिकैको डाँडा वा सार्वजनिक चौतारीमा गई जङ्गली झाडी (बुआसो) काट्छन् र त्यहाँ 'बुढी' (एउटा ठूलो लिङ्गो वा सल्लाको रुख आकृती बनाएर राखिन्छ) गाड्छन्। यसलाई असोजमा बुढी पोल्ने दिन पुन: उत्सव मनाएर जलाउने गरिन्छ, जसले समाजबाट नकारात्मक ऊर्जा र रोगव्याधिको अन्त्य हुने सङ्केत गर्छ।यसै गरि ओल्के सङ्क्रान्ति सकिएसँगै यस क्षेत्रमा महान् पर्व गौराको चहलपहल सुरु हुन्छ। गाउँघरमा पिङ हालिन्छ र साँझपख युवायुवती तथा वृद्धवृद्धाहरू एकै ठाउँमा जम्मा भई डेउडा, चैत र धुमारी खेल खेलेर  रमाइलो गर्छन्।

आधुनिकता र तीव्र बसाइँसराइको यो युगमा हाम्रा मौलिक पर्वहरू सङ्कटमा पर्दै गइरहेका छन्। ओल्के सङ्क्रान्ति केवल मिठो खानपिन गर्ने वा चाड मनाउने माध्यम मात्र होइन; यो त हाम्रो पुर्खाको इतिहास, प्रकृतिसँगको सामीप्यता र आपसी रिसराग मेटेर सामाजिक एकता कायम गर्ने दरिलो कडी हो। सुदूरपश्चिमको यो ऐतिहासिक र मौलिक धरोहरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यसको गरिमा जोगाइराख्न स्थानीय सरकार र नयाँ पुस्ता दुवै सक्रिय हुन जरुरी देखिन्छ।