कञ्चनपुरमा निःशुल्क बरिस्ता तालिम सञ्चालन,दक्षजनशक्ति उत्पादन गर्ने लक्ष्य

महेन्द्रनगर । युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगारका अवसरसँग जोड्ने उद्देश्यले कञ्चनपुरमा निःशुल्क बरिस्ता तालिम सञ्चालन गरिएको छ ।
होटेल संघ नेपालको आयोजनामा महेन्द्रनगर स्थित होटेल गंगोत्रीमा दुई साता लामो तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागी ३२ जनाको सहभागिता रहेको छ । युवालाई कफी बनाउने व्यावहारिक सीपसँगै कफीका विभिन्न प्रकार, मेसिन सञ्चालन तथा ग्राहक सेवाका विषयमा प्रशिक्षण दिइएको छ । पछिल्लो समय क्याफे, होटल तथा रेस्टुरेन्ट क्षेत्रमा बरिस्ताको माग बढ्दै गएको अवस्थामा युवालाई छोटो अवधिमै रोजगारीमा जोड्न तालिम सञ्चालन गरिएको जगदीशचन्द्र भट्टले जानकारी दिनुभयो । उहाँले तालिमबाट प्राप्त सीपलाई प्रयोग गरी सहभागीले स्वदेशमै रोजगारी पाउनुका साथै आफ्नै कफी सप तथा क्याफे सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको बताउनुभयो । “दक्ष जनशक्ति उत्पादन गर्नु हाम्रो उदेश्य हो अहिलेको समयमा यसको माग पनि धेरै छ ।” भट्टले भन्नुभयो–“यो तालिम पश्चात स्वदेश तथा विदेशमाका लागि दक्ष जनशक्ति तयार हुन्छ ।” तालिममा सहभागीलाई व्यावहारिक अभ्यासमा विशेष जोड दिइएको छ । तालिम पूरा गरेपछि सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ । तालिममा प्रशिक्षक शिखर वोगटीले प्रशिक्षण दिइराख्नुभएको छ ।


