गोवाबाट व्यवसाय प्रवर्द्धनका नयाँ सिकाइ लिएर फर्कियो कञ्चनपुर उद्योग वाणिज्य संघको टोली

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको टोली भारतको प्रमुख पर्यटकीय गन्तव्य गोवाको अध्ययन तथा अवलोकन भ्रमण सकेर स्वदेश फर्किएको छ ।
भ्रमणपछि बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै संघले भ्रमणका क्रममा गोवाको पर्यटन, होटल व्यवसाय, व्यापारिक गतिविधि, पूर्वाधार तथा पर्यटकीय क्षेत्रको व्यवस्थापनबारे अध्ययन गरेको जानकारी दिएको छ । संघका महासचिव राहुल भट्टले उक्त भ्रमणबाट कञ्चनपुरको व्यवसाय तथा पर्यटन क्षेत्रको विकासका लागि उपयोगी धेरै कुरा सिकेर आएको जानकारी दिनुभयो । “त्यहाँको पर्यटन व्यवसायबाट सिकेर कञ्चनपुरमा पनि पर्यटक भित्र्याउन लगानी गर्न प्रेरित गर्ने उपयोगी कुरा सिकेर आएका छौ ।” महासचिव भट्टले भन्नुभयो–“महाकाली नदीमा बनेको चारलेन पुलसंगै बन्ने पर्यटकिय गन्तव्यले यहाँको पर्यटन विकासमा थप टेवा पुगाउँछ ।” उहाँले गोवाले पर्यटनलाई व्यवसायसँग जोडेर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको भन्दै त्यहाँ अपनाइएका केही अभ्यास कञ्चनपुरमा समेत लागु गर्न सकिने बताउनुभयो ।
महासचिव भट्टले गोवाको पर्यटकीय विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता, होटल तथा रेस्टुरेन्ट व्यवसायको व्यवस्थापन, पर्यटक लक्षित सेवा र बजार व्यवस्थापनबाट आफुहरू प्रभावित भएर कञ्चनपुरमा पनि उपलब्ध प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावनालाई व्यवसायसँग जोड्न सके जिल्लाको आर्थिक गतिविधि थप विस्तार गर्न सकिने बताउनुभयो । अध्ययन अवलोकनका क्रममा गोवाका व्यवसायी तथा सम्बन्धित क्षेत्रका व्यक्तिसँग छलफल तथा अन्तरक्रियासमेत गरिएको भ्रमणमा सहभागी सदस्यहरु बताउँछन । यस्ता भ्रमणले व्यवसायीबीच अनुभव आदानप्रदानसँगै नयाँ व्यावसायिक सम्भावना पहिचान गर्न सहयोग पुग्ने संघको विश्वास छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्लाको व्यापार तथा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र, स्थानीय सरकार र अन्य सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै गोवाबाट सिकेका सकारात्मक अभ्यासलाई स्थानीय आवश्यकता र सम्भावना अनुसार कञ्चनपुरमा प्रयोग गर्ने संघका अध्यक्ष दिनेश मल्लले बताउनुभयो । “हाम्रो ठाउँ हामीले नै बनाउने हो त्यसका लागि म बाट सुरु गनुपर्छ ।” अध्यक्ष मल्लले भन्नुभयो–“हामीले व्याक्तिगत खर्चमा यो अध्ययन भ्रमण गरेका हौ यो भ्रमणबाट सिकेका धेरै कुरा व्यसायिको हितमा उपयोग गछौ ।” उहाँले वाणिज्य संघ सामाजिक संस्था भएकाले संघको कोषबाट सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने बताउनुभयो । संघका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र प्रकाश साउँदको संयोजकत्वमा संघको १५ सदस्यीय टोली अध्ययन अवलोकनका लागि भारतको प्रमुख पर्यटकीय गन्तव्य गोवा गएको थियो ।


