युवा दिवश : साझा आकाङ्क्षा र नेपाली युवाको वास्तविकता

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ मा विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आइएको छ। यस वर्षको युवा दिवस भिन्न परिवेश, साझा आकाङ्क्षा“Different Contexts, Common Aspirations”भन्ने मूल नाराका साथ नेपालमा पनि विविध चेतनामूलक र सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ। भौगोलिक, सांस्कृतिक, र आर्थिक रूपमा संसारका युवाहरूको परिवेश फरक भए पनि मर्यादित रोजगारी, गुणस्तरीय शिक्षा, समानता र सुरक्षित भविष्यप्रतिको उनीहरूको आकाङ्क्षा समान हुन्छ भन्ने सन्देश यो नाराले दिन्छ। नेपालको सन्दर्भमा भने युवाहरूका यी 'साझा आकाङ्क्षा' र 'भोगाईको परिवेश' बीच ठूलो खाडल देखिन्छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ अर्थात् कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत छ। इतिहासमै सबैभन्दा बढी कार्यशील जनशक्ति हुनु नेपालका लागि एउटा अभूतपूर्व 'जनसाङ्ख्यिक लाभ' हो। तर, दुर्भाग्यवश यो ऊर्जावान् शक्तिलाई स्वदेशमै उपयोग गर्ने स्पष्ट खाका राज्यसँग छैन।
वर्तमानमा नेपाली युवाको अवस्था सम्भावना र पलायनको दोसाँधमा छ। एकातिर सूचना प्रविधिको विकास र वैश्विक पहुँचले युवाहरूमा नवप्रवर्तन र उद्यमशीलताको भोक जगाएको छ। अर्कोतिर, शिथिल अर्थतन्त्र, परम्परागत तथा सैद्धान्तिक शिक्षा प्रणाली र नीतिगत अस्थिरताले उनीहरूमा चरम निराशा पैदा गरेको छ। जसको प्रत्यक्ष परिणाम स्वरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक हजारौँ युवाहरू लामबद्ध भई श्रम र अध्ययनका लागि बाहिरिइरहेका छन्। नेपालका ग्रामीण भेगहरू युवाविहीन हुँदै गइरहेका छन् भने देशको अर्थतन्त्र केवल रेमिट्यान्सको बैसाखीमा टिकेको छ।
नेपाली युवाले सामना गरिरहेका मुख्य समस्याहरू संरचनागत र व्यावहारिक दुवै छन्। शैक्षिक प्रमाणपत्र त छ, तर बजारले खोज्ने प्राविधिक र व्यावहारिक सीप छैन। स्वदेशमै नवीन सोचका साथ स्टार्टअप वा कृषि उद्यम गर्न चाहनेहरूका लागि वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा र प्रशासनिक प्रक्रिया अझै पनि झन्झटिला छन्। अर्को गम्भीर पक्ष भनेको भविष्यको अनिश्चितताका कारण युवाहरूमा बढ्दो मानसिक तनाव र डिप्रेसन हो। प्रतिभा पलायन सँगसँगै ठूलो मात्रामा पुँजी र श्रम पनि बाहिरिनुले देशको दीर्घकालीन हितलाई कमजोर बनाइरहेको छ।भविष्यको अनिश्चितता, बेरोजगारी र मानसिक तनावका कारण धेरै युवाहरू सानै उमेरमा लागूऔषध दुर्व्यसनको दलदलमा फसिरहेका छन्, जसले उनीहरूको सिर्जनात्मक क्षमतालाई नष्ट गरिरहेको छ। यसै कुलत र अनुशासनहीनताका कारण समाजमा चोरी, डकैती, साइबर अपराध, महिला हिंसा र उच्छृङ्खल (उदण्ड) व्यवहारहरू तीव्र रूपमा बढिरहेका छन्। युवा पुस्तामा देखिएको यो विकृतिले एकातिर पारिवारिक विखण्डन र अभिभावकहरूमा मानसिक पीडा थपेको छ भने अर्कोतिर समाजको शान्त र सुरक्षित वातावरणलाई ध्वस्त बनाउँदै समग्र राष्ट्रको भविष्यलाई नै अन्धकारतर्फ धकेलिरहेको छ।
दिवसको नाराले भनेझैँ, जस्तोसुकै चुनौतीपूर्ण परिवेशमा रहे पनि देश निर्माणमा युवाहरूको भूमिका र जिम्मेवारी प्राथमिक हुन्छ। युवाहरू केवल परिवर्तनका उपभोक्ता मात्र होइनन्, उनीहरू उत्पादनका मुख्य आधार हुन्। युवाहरूले परम्परागत राजनीतिको मूकदर्शक मात्र नभई नीति निर्माण र राज्यका प्रमुख अङ्गहरूमा रचनात्मक हस्तक्षेप गर्न आवश्यक छ। स्थानीय तहदेखि नै सुशासन र पारदर्शिताका लागि आवाज उठाउनु उनीहरूको नैतिक जिम्मेवारी हो।यसै गरि वैदेशिक रोजगारीको लहलहैमा लाग्नुभन्दा उपलब्ध स्थानीय स्रोत, पर्यटन, आधुनिक कृषि र सूचना प्रविधिको उपयोग गर्दै देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न युवाहरू अग्रसर हुनुपर्छ भने समाजमा व्याप्त कुप्रथा, भ्रष्टाचारी मानसिकता र विभेद विरुद्ध सचेतना फैलाउँदै समतामूलक समाजको जग बसाल्ने काम युवाकै काँधमा छ।
अब राज्यले युवाहरूलाई केवल “भोट बैंक वा रेमिट्यान्सको स्रोत”का रूपमा मात्र हेर्ने दृष्टिकोण बदल्नुपर्छ। राष्ट्रिय युवा नीति र युवा स्वरोजगार जस्ता कार्यक्रमहरूलाई दलीय भागबन्डाभन्दा माथि उठाएर वास्तविक युवासम्म पुर्याउनु आवश्यक छ। सरकारले सूचना प्रविधि, स्टार्टअप र युवा उद्यमशीलता प्रवर्द्धनका लागि नीतिगत सरलीकरण र अनुदानका विशेष प्याकेजहरू ल्याउन ढिला गर्नु हुँदैन।
परिवेश फरक भए पनि युवाका आकाङ्क्षाहरू न्याय, समानता र समृद्धिसँग जोडिएका हुन्छन्। नेपाली युवाहरूको देशमै सम्मानपूर्वक बाँच्न पाउने र योगदान गर्न पाउने साझा आकाङ्क्षालाई मूर्तरूप दिन राज्य गम्भीर बन्नुपर्छ।साथै, कुलतमा फसेका युवाहरूको पुनर्र्स्थापना र मानसिक परामर्शका लागि स्थानीय तहसम्मै प्रभावकारी कार्यक्रम सञ्चालन गरिनुपर्छ।परिवेश फरक भए पनि युवाका आकाङ्क्षाहरू न्याय, समानता र समृद्धिसँग जोडिएका हुन्छन्। नेपाली युवाहरूको देशमै सम्मानपूर्वक बाँच्न पाउने, कुलतमुक्त हुने र राष्ट्र निर्माणमा योगदान गर्न पाउने साझा आकाङ्क्षालाई मूर्तरूप दिन राज्य गम्भीर बन्नुपर्छ।युवाको जोश र राज्यको सही दिशा निर्देश मिलेमा मात्र यो वर्षको अन्तर्राष्ट्रिय युवा दिवसले सार्थकता पाउनेछ र समृद्ध नेपालको सपना साकार हुनेछ।सबैलाई युवा दिवशको शुभकामना ।

