आइतबार, २ कात्तिक २०८३ || Oct 18, 2026
अर्थ / बजार

सदस्यको सुख दुःखको सारथी बन्दै उदयदेव सहकारी

पश्चिमपाटी
131Shares

महेन्द्रनगर ।  सहकारी भन्नासाथ बचत र ऋणको कारोबार मात्रै बुझ्ने गरिन्छ । तर उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भने वित्तीय कारोबारसँगै सदस्यको सुखदुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आएको छ । सहकारीले सुत्केरी अवस्थादेखि गम्भीर रोगको उपचार र पारिवारिक संकटमा समेत सदस्यलाई आर्थिक सहयोग गर्दै आएको छ ।
संस्थाले सुत्केरी भएका महिला सदस्यलाई पौष्टिक आहारका लागि नगद सहयोग उपलब्ध गराउँदै आएको छ । सदस्यका श्रीमानको मृत्यु हुँदा आर्थिक सहायता प्रदान गर्ने तथा सदस्यको मृत्यु भएमा काजकिरिया खर्च समेत उपलब्ध गराउँदै आएको छ । त्यस्तै, महिला सदस्यको पाठेघरको शल्यक्रिया गर्दा उपचार खर्च सहयोग गर्नुका साथै क्यान्सर र मुटुरोग जस्ता गम्भीर रोगको उपचारमा समेत आर्थिक सहायता प्रदान गर्दै आएको छ । विपदमा परेका सदस्य तथा प्रभावितलाई पनि संस्थाले आर्थिक सहयोग गर्दै आएको जनाएको छ । 
सदस्यको जीवनमा आइपर्ने सुखदुःख र संकटका बेला सहकारीले प्रदान गर्ने यस्तो सहयोगले सदस्यप्रतिको जिम्मेवारीलाई उजागर गर्ने सहकारीले जनाएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेशवहादुर चन्दले सहकारी सफलता नाफामा मात्रै मापन नहुने बताउँदै सदस्यलाई संकटको समयमा दिएको साथ र सदस्यको जीवनमा आएको सकारात्मक परिवर्तन महत्वपूर्ण भएको बताउनुभयो । उहाँले उदयदेव २८ औँ वर्षमा पुग्दासम्म सदस्य र समाजप्रति उत्तरदायि रहेको बताउनुभयो । सहकारीलाई बचत तथा ऋणको कारोबारमा मात्र सीमित नराखी सदस्यको स्वास्थ्य, परिवार र सामाजिक सुरक्षासँग जोड्ने प्रयासका रूपमा सहकारी विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको उहाँको भनाई थियो । उहाँले सदस्यहरुको सहुलियतका लागि ब्याजदर घटाउनुका साथै सेवा शुल्क हटाएको बताउनुभयो ।
सहकारी अध्यक्ष नारा जोशी पनि शुन्यबाट उठेको सहकारी हालको अवस्थासम्म आइपुग्दा हजारौ सदस्यको विश्वास र धेरै वर्षको सामुहिक मेहनतको परिणाम भएको बताउँछन । उहाँले संस्थाको भवन ठुलो भएर मात्र नभइ सदस्यको विश्वास ठुलो हुँदा संस्था दिगो र बलियो हुन्छ । सदस्यको विश्वास संस्थाको सबैभन्दा ठुलो सम्पत्तीका रुपमा संरक्षण गर्ने उहाँको भनाई थियो । “सहकारी बचत संकलन र कर्जा लगानी गर्ने माध्यम मात्र होइन सहकारीले सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउने र उद्यमशिलतालाई प्रोत्साहन गरि आर्थिक सिवकासमा योगदान गर्ने माध्यम हो ।” अध्यक्ष जोशीले भन्नुभयो–“उदयदेवले यहि मान्यतालाई आत्मसाथ गर्दै सदस्य केन्द्रित,उत्पादनमुलक र सामाजिक उत्तरदायित्व बोकेको सहकारी संस्थाको रुपमा विकास हुँदैछ ।”
हाल सुदूरपश्चिममै उत्कृष्ट पहिचान बनाएको उदयदेवले शुक्रवार सहकारी संस्थाको २८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको अवसरमा संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३२ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा १५ जना उत्कृष्ट उद्यमी, पाँच जना जेहेन्दार विद्यार्थी, नौ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ भने रु ११ हजार रकमको सहकारी पत्रकारिता पुरस्कार पत्रकार महादेव अवस्थीलाई प्रदान गरेको छ । यस अवसरमा सहकारीले उत्कृष्ट सदस्य, सञ्चालक र किसानलाई समेत दोसल्ला, नगद र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ ।
संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को वित्तीय विवरणअनुसार शेयर पुँजी २३ करोड १८ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छ । संस्थामा दुई अर्ब २४ करोड ७९ लाख ५७ हजार ८२४ रुपैयाँ बचत रहेको छ भने ऋण लगानी एक अर्ब ६८ करोड ४४ लाख ५४ हजार ९४३ रुपैयाँ पुगेको छ । उक्त आर्थिक वर्षमा संस्थाले पाँच करोड दुई लाख ६२ हजार ५८३ रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ । वित्तीय विवरणमा संस्थाको कर दायित्व एक करोड ३३ लाख ८१ हजार २६३ रुपैयाँ रहेको उल्लेख छ । 
सदस्यलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले सहकारीले वित्तीय शिक्षा र सीप विकासका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा ६५ वटा वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरिएका थिए । जसमा एक हजार ९५० जनाको सहभागिता रहेको संस्थाले जनाएको छ । त्यस्तै, ६० जनालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम र १७ जनालाई दुना–टपरी बनाउने तालिम प्रदान गरिएको छ ।
 उदयदेव सहकारीले सञ्चालन गर्दै आएका सामाजिक सहयोग र क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउन सके सदस्यप्रतिको उत्तरदायित्व अझ सुदृढ हुने देखिन्छ ।