बासुदेव स्मृति फुटबलको उपाधी सरस्वती मावि झरनासागरलाइ

महेन्द्रनगर । महेन्द्रनगर स्थित खुलामञ्चमा सम्पन्न भएको तेस्रो बासुदेव स्मृति अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधी सरस्वती माध्यमिक विद्यालय झरनासागरले जितेको छ ।
आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सरस्वती माध्यमिक विद्यालय झरनासागरले १–० गोलको अन्तरले ओम पुष्पाञ्जलि बोर्डिङ इंग्लिस स्कुललाई पराजित गरेको हो । प्रतियोगिताको विजेता बनेको सरस्वती मावि झरनासागरले रु ५५ हजार ५५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता टिम ओम पुष्पाञ्जलिले रु ३३ हजार ३३३ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, मिडफिल्डर र सर्वाधिक गोलकर्ता सरस्वती माविका बिरेन्द्र साउँद, उमेश खडायत र जीवन महरले भए । उत्कृष्ट डिफेन्स बैजनाथ मावि महेन्द्रनगरका गणेश ओलि र प्रतियोगिताको उत्कृष्ट खेलाडी एलिस बम घोषित भए । प्रतियोगिताका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि रहेको बताए ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उहाँले सदूरपश्चिम खेलका लागि उर्वर भूमि रहेको बताउँदै सुदूरपश्चिममा हरेक खेलमा कुशल प्रतिभाहरु रहेको उल्लेख गर्नुभयो । प्रतियोगितामा कञ्चनपुर जिल्लाका ३२ विद्यालयका टोली सहभागी भएका थिए । सहभागीमध्ये ९ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालयले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।




