कैलालीलाई ५ रनले हराउँदै कञ्चनपुर यु–१९ फाइनलमा

महेन्द्रनगर । वाई–वाई यु–१९ पुरुष एकदिवसीय प्रादेशिक छनोट क्रिकेट प्रतियोगिता कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले २६ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन बनाएको थियो । कञ्चनपुरका लागि अंकुश ओखेडाले सर्वाधिक ३० रन बनाए । उनले २० बलमा ६ चौका प्रहार गरे । हिमाल पन्तले ४२ बलमा तीन चौकासहित १८ र अंकित चन्दले २३ बलमा तीन चौकासहित १५ रनको योगदान दिए ।
कैलालीका बलर रुद्रप्रसाद आचार्य र रोशन रावलले समान तीन–तीन विकेट लिए। आचार्यले ७.३ ओभरमा १६ रन खर्चिए भने रावलले एक मेडनसहित ६ ओभरमा २३ रन दिए । ८९ रनको लक्ष्य पछ्याएको कैलाली यु–१९ ले निर्धारित ३० ओभर ३ बलमा पाँच विकेट गुमाउँदै ८३ रन मात्रै बनाउन सक्यो । कैलालीका निश्चल क्षेत्रीले ४७ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । प्रिकल चन्दले ५४ बलमा एक चौकासहित १८ रन जोडे ।
कञ्चनपुरको जितमा जनक सिंह सुनार र सृजल ओडले उत्कृष्ट बलिङ गरे । जनकले चार ओभरमा एक मेडन राख्दै तीन रन खर्चिएर चार विकेट लिए । सृजलले ७.३ ओभरमा एक मेडनसहित १६ रन दिएर चार विकेट हात पारे । उत्कृष्ट बलिङ प्रदर्शन गरेका कञ्चनपुरका जनक सिंह सुनार प्लेयर अफ द म्याच घोषित भए । यस जितसँगै लगातार तेस्रो जित निकालेको कञ्चनपुरले प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ ।




