आइतबार, २ कात्तिक २०८३ || Oct 18, 2026
समाचार

बाजुराको बडीमालिकामा १६ घर पहिरोको जोखिममा

पश्चिमपाटी
41Shares

६ साउन, बाजुरा । अविरल वर्षाका कारण बाजुराको बडीमालिका नगरपालिका–६ कोर्धमा पहिरोबाट ६ घर जोखिममा छन् । सोमबार राति परेको अविरल वर्षापछि पहिरो जाँदा कोर्धका ६ वटा घर प्रभावित भएका छन् भने १० घरधुरी उच्च जोखिममा परेका हुन् ।

अविरल वर्षापछि कोर्ध क्षेत्रमा पहिरो खसेर जमिन भासिएको सूचना प्राप्त हुनासाथ मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली तथा बडिमालिका नगरपालिकाको टोली खटिएर संयुक्त अनुगमन समेत गरेको छ ।

उक्त टोलीले दिउँसो घटनास्थल पुगेर स्थलगत निरीक्षण गर्दा अविरल वर्षासँगै घर तलमाथि पहिरो खस्दा ६ घरधुरी पूर्ण रूपमा जोखिममा रहेको र थप १० वटा घरधुरी सामान्य जोखिममा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार पूर्ण जोखिममा परेका घरधुरीमा बडीमालिका ६ कोर्ध बस्ने प्रसादे साउद, गोरे साउद, अम्मर साउद, भक्त साउद, लाल साउद र खडक साउद रहेका छन् । यस्तै स्थानीय बल साउद, मन साउद, शिव बडुवाल, जय साउद, नर साउद, भाने साउद, गोरख साउद, खन्टे ल्वार तथा पवन विकका घरधुरी सामान्य जोखिममा रहेको सूचना अधिकारी शाहीले बताए ।