रसुवामा आएको भीषण बाढीप्रति कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त

महेन्द्रनगर । रसुवा जिल्लामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति कञ्चनपुर उद्योग वाणिज्य संघले गहिरो दुःख व्यक्त गरेको छ ।
संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बिहान करिब ९ बजे चीनको सीमा क्षेत्रबाट आएको अचानक बाढीका कारण रसुवा जिल्लामा ठूलो जनधनको क्षति, भौतिक संरचनाको विनाश तथा कैयौँ नागरिक प्रभावित भएकोप्रति दुःख व्यक्त गरिएको छ । प्रारम्भिक विवरण अनुसार बाढीका कारण मानवीय क्षति, सडक तथा पुललगायतका भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।
संघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै व्यक्तिहरूको सुरक्षित उद्धारका लागि संघले अपेक्षा गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस, स्वयंसेवी संस्था तथा सम्पूर्ण सरोकारवालालाई प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ । प्राकृतिक विपद्को यस कठिन समयमा सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध भई प्रभावित नागरिकहरूको सहयोगमा जुट्न संघका अध्यक्ष दिनेश मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




