आइतबार, २ कात्तिक २०८३ || Oct 18, 2026
समाज

राहत कोषमा सुदूरपश्चिमका पाँच चेम्बरको एक लाख सहयोग

पश्चिमपाटी
65Shares

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा क्रियाशील पाँच चेम्बर संस्थाहरूले दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख एक हजार एक रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
सुदूरपश्चिम चेम्बर अफ कमर्स, कञ्चनपुर चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्स र धनगढी चेम्बर अफ कमर्सको संयुक्त पहलमा उक्त सहयोग प्रदान गरिएको हो । विपद्को कठिन घडीमा निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्व वहन गर्दै सरकार र नागरिकसँग हातेमालो गर्नुपर्ने भावनाअनुसार सहयोग गरिएको चेम्बरले जनाएको छ । विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सक्रिय रूपमा खटिरहनुभएको नेपाल सरकार, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय तह, सामाजिक अभियन्ता, स्वयंसेवक, विभिन्न संघसंस्था तथा आ–आफ्नो स्थानबाट सहयोग गरिरहनुभएका स्थानीय नागरिकहरूप्रति पाँचै चेम्बरले धन्यवाद तथा सम्मान व्यक्त गरेका छन् ।
चेम्बरले विपद्को समयमा सबैको सानो सहयोगले ठूलो राहतको रूप लिन सक्ने भन्दै उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था र आम नागरिकलाई आफ्नो क्षमता र क्षेत्रअनुसार सक्दो सहयोग गर्न अपीलसमेत गरेको छ । सानो–सानो सहयोग जोडिँदा ठूलो मानवीय अभियान बन्न सक्ने यस्तो कठिन घडीमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु नै हाम्रो साझा दायित्व भएको चेम्बरले जनाएको छ ।